धरान, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिद्वारा नाम्जेमा ५ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ।

नाम्जे(साँगुरीगढी गाउँपालिका–६, थुम्के होमस्टे)मा चैत २५ गते देखि २९ गते सम्म भएको तालिममा कोशी प्रदेशका ९ जिल्लाबाट सहभागी करिब ४५ जना पत्रकारहरूले तालिमबाट पर्यटन प्रवर्द्धनमा आवश्यक ज्ञान र सीप हासिल गरेका छन्।

तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि भीम पोखरेलले धनकुटा तथा पूर्वी नेपालका पर्यटकीय सम्भावनाहरू अत्यन्तै समृद्ध रहेको उल्लेख गर्दै तिनको प्रचार-प्रसारमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए।

उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्न पत्रकारहरूले सक्रिय रूपमा कलम चलाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले पर्यटन कार्यालय कोशी प्रदेशसँगको सहकार्यमा गरेको हो।

सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, धनकुटा, उदयपुर, सुनसरी, झापा, मोरङ र विराटनगर क्षेत्रका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिमको उद्देश्य पर्यटनमैत्री पत्रकारिता विकास गर्नुका साथै डिजिटल युगअनुसार रिपोर्टिङ, ट्राभल स्टोरीटेलिङ, फोटो तथा भिडियो सामग्री उत्पादनमा दक्ष जनशक्ति तयार गर्नु रहेको आयोजकले जनाएको छ।

तालिम अवधिमा सहभागी पत्रकारहरूलाई धनकुटाका प्रमुख पर्यटकीय स्थलहरू साँगुरीगढी क्षेत्रका शुक्रबार बजार, रमिते डाँडा, बन्दुके डाँडा, डाँडाबजार, मकवारम ताल, रानी ताल लगायत स्थानहरूको अवलोकन गराइएको थियो। साथै समुद्री सतहदेखि करिब १४५० मिटर उचाइमा रहेको पर्माकल्चर सिकाइ केन्द्रमा कृषि उत्पादन र गतिविधिबारे समेत जानकारी दिइएको थियो।

समापन कार्यक्रममा बोल्दै कोशी प्रदेश अध्यक्ष भरत खड्काले पर्यटन पत्रकारितालाई प्रोत्साहन गर्न प्रदेश सरकारसँग सहकार्य गर्दै आगामी दिनमा थप तालिम, पुरस्कार तथा प्रोत्साहनका कार्यक्रम ल्याइने जानकारी दिए। उनले पत्रकारहरूलाई पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर लेखन गर्न आग्रह गरे।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्जालीले स्थानीय अर्गानिक खाना, संस्कृति, प्राकृतिक सौन्दर्य तथा होमस्टे व्यवस्थापनको प्रभावकारी प्रचारप्रसारले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए। उनले भेडेटार–नाम्चे–धरान क्षेत्रलाई दार्जिलिङ र सिक्किमबाट आउने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका पर्यटन तथा वनमन्त्री भीम पराजुलीले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनमा प्राथमिकता दिइरहेको बताए।

उनले आगामी बजेटमा पर्यटन पत्रकारहरूको सुझावलाई समेट्दै प्रभावकारी योजना ल्याइने प्रतिबद्धता जनाए। साथै डिजिटल प्लेटफर्ममार्फत पर्यटन प्रवर्द्धन गर्ने पत्रकारहरूलाई विशेष प्रोत्साहन र सम्मानको व्यवस्था गरिने जानकारी दिए।

तालिममा प्रशिक्षकहरू विराट अनुप र भिषण राईले पर्यटन पत्रकारिता, मोबाइल पत्रकारिता (MoJo), भिडियो निर्माण तथा सम्पादन, डिजिटल मिडिया प्रयोगलगायत विषयमा सहजीकरण गरेका थिए। सहभागीहरूले व्यवहारिक अभ्यासमार्फत सीप विकास गरेका थिए।

समापन समारोहमा महासंघका पदाधिकारीहरूको उपस्थितिमा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

IMG-20260406-WA0076