धरान, दिवंगत धरानका साहित्यमा कलम चलाउने श्रष्टाहरुलाई जीवन्त बनाउने उदेश्यले धरान–१३ मा श्रष्टा पार्क निर्माण भएको छ।
धरान–१३ नंवर वडा कार्यलयसँगै रहेको श्रष्टा पार्कमा धरानका १३ जना श्रष्टाहरुको प्रतिमा रहेका छन्।
भौतिक विकाससँगै वौद्धिक बिकासलाई पनि महत्व दिनुपर्ने सोचले श्रष्टा प्रतिको सम्मान तथा उनीहरुलाई जीवन्त बनाउने उदेश्यले उक्त पार्क गरिएको धरान उपमहानगर पालिकाका वडा अध्यक्ष नेत्र काफलेको बताएका छन्।
उक्त पार्कमा छबिलाल पोख्रेल, बिमल गुरुङ, महानन्द सापकोटा, जगदिश नेपाली, कर्ण मास्के, मानवहादुर शाक्य, वेणु आचार्य, टंक घिमिरे, जीतमान राई, कृष्ण पाख्रिन, गोबिन्द विकल, गमबहादुर लम्जेल (लम्जेल संघर्षशील)लगायतको प्रतिमा रहेका छन्।
आयोजक साहित्य कला सँस्कृतिक प्रतिष्ठान धरान–१३ को अध्यक्ष गोपाल प्रयास श्रेष्ठको सभापतित्वमा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बुधबार उक्त प्रतिमाको अनावरण तथा पार्कको उदघाटन गरेका छन्।
यसैगरी धरानका साहित्य, कला, सँस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्न साहित्य कला सँस्कृति प्रतिष्ठान धरान १३ द्वारा दुई दिने ‘तेस्रो अन्तराष्ट्रिय धरान साहित्य, कला, सँस्कृति, पर्यटन महोत्सव–२०८२’ आयोजना भयो।
महोत्सव अन्तरगत प्रभात फेरि, श्रष्टा सम्मान, सृजना विमोचन, कविता, कथा मुक्तक, गजल वाचन, लोकदोहोरी तथा साँस्कृतिक नृत्य प्रस्तुती, पर्यटकीय स्थल भ्रमण, कार्यपत्र प्रस्तुतीलगायतको कार्यक्रम सम्पन्न भएको छ।
महोत्सवको पहिलो दिन बुधबार श्रष्टा पार्कको उदघाटन तथा प्रतिमा अनावरण पश्चात धरान १३ नंबर वडा देखि प्रभात फेरि सुरु गरि धरान–१ लक्ष्मी चौक स्थीत महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक परिक्रमा भई धरान–१३ स्थीत धरान वेङ्केटमा कार्यक्रम संचालन भयोे।
उक्त दुई दिने ‘तेस्रो अन्तराष्ट्रिय धरान साहित्य, कला, सँस्कृति, पर्यटन महोत्सव–२०८२’का मुल संयोजक बरिष्ठ साहित्यकार वंम देवानको सभापतित्व, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा महोत्सवको उदघाटन भई चार कृतिहरु विमोचन तथा पाँच जना श्रष्टाको सम्मान गरिएको छ।
बिमोचित कृतिहरुमा हेमन्त निरौलाको ‘बुढेसकालको मधुमास’ कथा संग्रह, अविराम क्रान्ति (गोपाल देवान)को ‘कबिताको आतंक’ कविता संग्रह, राजेन्द्र खनाल (क्षितिज)को ‘कर्डस् अफ रोमान्स’ कविता संग्रह र भरत बर्बरिकद्वारा सम्पादित ‘फिरफिर पुतली’ बाल गीत संग्रह रहेका छन्।
यसैगरी दोसल्ला र सम्मान पत्रद्वारा डा.महेन्द्रकुमार मल्ल, गिरिराज आचार्य, रोशन शर्मा, धिराज राई, तेजिन्द्र गन्धर्व सम्मानित भए।
महोत्सवमा पूर्व मेची देखि पश्चिम महाकालीका ७७ वटै जिल्लाका साहित्यकारहरु सहित नेपाली भाषी भारतीय साहित्यकारहरुद्वारा कविता, निवन्ध, कथा, मुक्तक, गजल प्रस्तुत भए।
महोत्सवमा सहभागिहरुलाई धरानका मठमन्दिर तथा विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउनुको साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुनसरीद्वारा गीत र गरिमा डान्स सेन्टर धरानको कलाकारबाट साँस्कृतिक नृत्य प्रस्तुत गरि मनोरन्जन प्रदान गरिएको छ।

यसैगरी ‘धरानको साहित्यिक परिवृत’ विषयमा प्रा.डा.भीम खतिवडा, डा.दीपक न्यौपाने र डा.सुभाषचन्द्र न्यौपानेद्वारा लिखित कार्यपत्र डा.दीपक न्यौपानेले प्रस्तुत गरे।
भने ‘भारतमा लेखिएका समकालीन नेपाली कथामा उत्तर–आधुनिक सन्दर्भ’ विषयमा डा.राजकुमार क्षेत्री तथा ‘दार्जिलिङको नेपाली गीत लेखनको इतिहास’ विषयमा लेखक नबिन पौडेलले कार्यपत्र प्रस्तुत गरे। प्रस्तुत कार्यपत्र माथि डा.कपिलदेव लामिछानेले अवधारणा प्रस्तुत गरे।
साहित्यबाट प्रर्यटनलाई जोड्ने र पर्यटनबाट धरानको बिकासमा टेवा पुर्याउने हेतुले आयोजित उक्त ‘तेस्रो धरान अन्तराष्ट्रिय साहित्य कला सँस्कृतिक पर्यटन महोत्सव’ धरान उपमहानगरपालिकाको कार्यवाहक प्रमुख आईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा समापन गरिएको हो।




प्रतिक्रिया