धरान, रोटरी क्लब अफ धरानको आयोजनामा धरानमा तेस्रो संस्करणको राष्ट्रिय स्तरको खुला माउन्टेन बाइकिङ (एमटिभी) प्रतियोगिता आयोजना हुने भएको छ।
सन् २०२३ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सञ्चालन गरिने आज पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता यहि चैत १४ गते शनिबार बिहान ६ बजे धरान–२ स्थित भानुचोकबाट सुरु हुने भएको छ। उक्त प्रतियोगितामा १० किलो मिटर र १५ किलो मिटर गरी दुई फरक दूरीका रेस समावेश गरिएका छन्।
१० किलोमिटर रेस भानुचोकबाट सुरु भई विभिन्न स्थान हुँदै भगवती स्कुलमा पुगेर टुंगिनेछ। त्यस्तै,१५ किलोमिटर साइक्रोस रेस पनि सोही स्थानबाट सुरु भई विभिन्न मार्ग पार गर्दै पुनः त्यहीँ समापन हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
साथै विजेताहरूलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ। महिला तथा ४० वर्षमाथिका उत्कृष्ट राइडरहरूका लागि विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ।
धरानको भौगोलिक बनावट माउन्टेन बाइकिङका लागि उपयुक्त रहेको भन्दै आयोजकले यस प्रतियोगितामार्फत खेलको प्रवर्द्धन तथा युवामा आकर्षण बढाउने लक्ष्य राखिएको जनाएको छ।
प्रतियोगितामा भारतको दार्जिलिङबाट समेत खेलाडीहरू सहभागी हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया