धरान, अरबी पात्रोअनुसार हिजरी संवत्को नवौँ महिनाभरि निराहार व्रत (रोजा) पूरा गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व हर्षोल्लासका साथ मनाई रहेका छन्।
धरानका मुस्लिम समुदायले धरान-३ स्थीत मस्जिदमा सामुहिक नमाज प्रार्थना गरि एकअर्कालाई शुभकामना अर्पण गरि इद उल फित्र मनाएका छन्।
धरानसँगै देशका विभिन्न स्थानमा बिहानैदेखि मस्जिद तथा इदगाहहरूमा मुस्लिम समुदाय मस्जिदमा गएर मनाउछन्।
उनीहरूले विशेष नमाज अदा गरी एकअर्कासँग शुभकामना आदानप्रदान गर्दै पर्व मनाएका छन्।
एक महिनासम्मको कठोर उपवासपछि आउने यस पर्वलाई आत्मसंयम, त्याग र आध्यात्मिक शुद्धताको प्रतीकका रूपमा लिइन्छ। यस दिन मुस्लिम धर्मावलम्बीहरूले नयाँ लुगा लगाउने, विभिन्न मिठा परिकार तयार गर्ने तथा आफन्तजनसँग भेटघाट गर्ने परम्परा रहेको छ।
इदको अवसरमा विशेष नमाजपछि तीन दिनसम्म आफूभन्दा ठूला–बडाकहाँ गई आशीर्वाद लिने तथा सानालाई माया र आशीर्वाद दिने चलन पनि रहेको छ। बालबालिकालाई ‘इदी’ दिने परम्पराले पर्वलाई अझ उल्लासमय बनाएको छ।
देशभरका मस्जिदहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। समुदायबीच भाइचारा, सद्भाव र सहिष्णुताको सन्देश बोकेको यस पर्वले समाजमा एकता र मेलमिलापको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
यसै अवसरमा सरकारका उच्च पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका छन्।
इद उल फित्रले नेपाली समाजमा विविधताबीचको एकता, पारस्परिक सम्मान र सद्भावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया