धरान, भक्तपुरमा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ।

आगामी ६ र ७ चैतमा हुने उक्त महोत्सवमा २४ नेपाली फिल्म प्रदर्शन गरिने आयोजकले जनाएका छन्।

महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ प्रदर्शनबाट गरिनेछ। दुई दिनसम्म चल्ने महोत्सवमा कथा, डकुमेन्ट्री तथा स्वतन्त्र फिल्महरू प्रदर्शन गरिने छन्।

महोत्सव युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी र प्रवीण टक्की लगायतको समूहले आयोजना गर्न लागेको हो।

महोत्सव निर्देशक किरण किलम्बुका अनुसार भक्तपुरको कला, संस्कृति र साहित्यलाई प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्ताका फिल्मकर्मीलाई अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सव संयोजक स्मित गिरीले स्वतन्त्र रूपमा फिल्म निर्माण गरिरहेका फिल्मकर्मीलाई प्लेटफर्म उपलब्ध गराउनु र सिनेमा साक्षरता (सिनेमा लिट्रेसी) बढाउनु पनि महोत्सवको मुख्य लक्ष्य भएको बताए। उनीसँगै सफल वैद्य पनि महोत्सव संयोजकका रूपमा रहेका छन्।

महोत्सवमा ‘ऐना झ्यालको पुतली’, ‘सङ्ग अफ क्लाउड्स’, ‘एट एनोदर विन्टर’ र डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्म प्रदर्शन गरिनेछन्। समापनमा सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’ प्रदर्शन गरिनेछ।

यसका साथै नेवा संस्कृतिमा आधारित ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ शीर्षकका फिल्म पनि महोत्सवमा समावेश गरिएका छन्।

महोत्सवका क्रममा फिल्मकर्मी केशव पाण्डेले कथा लेखन कार्यशाला सञ्चालन गर्नेछन् भने फागुन ३० गते रुशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा हेरिटेज वाक कार्यक्रम पनि आयोजना गरिनेछ।

उक्त महोत्सव कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना हुने आयोजकले जानकारी दिएका छन्।