धरान, प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ सुनसरी क्षेत्र नं १ मा अत्यधिक मतका साथ विजयी भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरि आफ्ना मतदातालाई धन्यवाद दिएका छन्।
उक्त धन्यवाद ज्ञापन कार्यक्रममा बोल्ने क्रममा उनले सधैं सत्य बोल्ने र अन्यायविरुद्ध आवाज उठाउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
उनले आफ्नो सत्य र साँचो कुरा बोल्ने साहस भएकाले आजको स्थान सम्म आईपुग्न सफल भएको बताए।
उनले भने, “यदि म डराएर नबोली बसेको भए आज यो ठाउँमा पुग्दिनथेँ। त्यसैले जनतालाई पनि सत्य र साँचो कुरामा प्रश्न उठाउन म आग्रह गर्छु।”
उनले आफूलाई पहिले धरानको मेयरको रूपमा काम गर्ने अवसर दिएको स्मरण गर्दै भने, “मेयरको पद भनेको काम गर्ने पद हो। अब जनताले देशभरबाट तीन सिट दिएर संसदमा प्रश्न गर्ने जिम्मेवारी दिएका छन्।”
साम्पाङले संसदमा आफू किसान, गरिब र सुकुम्बासीका मुद्दा जोडतोडका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको हकअधिकारको लागि झनै धेरै बोल्ने बताए।
देश बेच्ने र भ्रष्टाचार गर्नेहरुलाई कडा कारवाही अहिलेको आवश्यकता भएको र त्यस्ता भ्रष्टाचारी विरुद्ध पनि आवाज उठाउने साथै उनले दार्चुलामा रहेको तुईन समस्याको दीर्घकालीन समाधानका लागि झोलुङ्गे पुल निर्माण गर्ने आफ्नो योजना पनि सुनाए।
साम्पाङले चुनावका क्रममा आफू मन्त्री बन्ने कुरा पनि उठेको तर त्यसलाई चुनावी बहसको सामान्य रणनीति भएको बताए। उनका अनुसार, यस्ता कुरा चुनावमा मतदाताको मनोबल बढाउन वा प्रतिस्पर्धीलाई कमजोर बनाउन प्रायः उठाइने गरिन्छ।
चुनावका क्रममा आफूलाई हराउन धेरै प्रयास भएको उल्लेख गर्दै साम्पाङले भने, “हामी दरो खुट्टा टेकेर चुनाव लड्यौं र जनताको विश्वास जित्यौं।”
अब उनले २०८४ का लागि श्रम संस्कृति पार्टी विस्तार गर्ने र वडाहरुमा कमिटी बनाएर अगि बढ्ने योजना रहेको बताए।



प्रतिक्रिया