धरान, निर्वाचन आयोगले चुनावअघि मत सर्वेक्षण सार्वजनिक गर्न पाउने कि नपाउने भन्ने विषय अब स्पष्ट रूपमा टुंग्याउने अठोट गरेको छ।
आयोगले यो विषय हरेक निर्वाचनमा विवादित बन्दै आएको भन्दै दीर्घकालीन समाधान खोज्ने संकेत दिएको हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मतदाताले मत खसाल्नुअघि नै उम्मेदवारको सम्भावित जित–हारबारे सञ्चारमाध्यम वा अन्य माध्यमबाट सार्वजनिक हुने सामग्रीप्रति आयोग संवेदनशील रहेको बताए।
उनले भने, “मतदाताले मत खसाल्नै पाएका छैनन्, तर बाहिरबाट परिणाम जस्तै गरी आकलन सार्वजनिक हुनु अत्यन्त संवेदनशील विषय हो।” आचारसंहितामा व्यवस्था हुँदाहुँदै पनि उल्लंघनका घटना दोहोरिने गरेको उनको भनाइ थियो।
भण्डारीका अनुसार मत सर्वेक्षणसम्बन्धी विषय हाल अदालतमा विचाराधीन रहेकाले त्यसको निर्णयको प्रतीक्षा गरिनेछ। तर, अबका दिनमा निर्वाचनपूर्व यस्तो विषय अन्योलमा नरहने गरी स्थायी निर्णय गरिने उनले स्पष्ट पारे। “उचित समयमा उचित निष्कर्षमा पुग्ला नै, तर अब सदाका लागि निर्वाचनअघि मत सर्वेक्षण गर्ने/नगर्ने विषय टुंग्याउनुपर्छ भन्ने अठोट लिएका छौँ,” उनले भने।
आयोगले सबै पक्षलाई कानुन र आचारसंहिता पालना गर्न आग्रह गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुने दोहोर्याएको छ। “कसैले मान्दिन भनेर छुट पाउँछ जस्तो लाग्दैन,” भण्डारीले चेतावनी दिए।
निर्वाचनको निष्पक्षता, पारदर्शिता र मतदाताको स्वतन्त्र निर्णयलाई सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको आयोगको धारणा छ।



प्रतिक्रिया