होली अर्थात् फागु पूर्णिमा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण रङ्गीन पर्व हो।
यो पर्व वसन्त ऋतुको आगमनसँगै मनाइन्छ र आपसी प्रेम, सद्भाव र भाइचारा सुदृढ गर्ने सन्देश दिन्छ। नेपालमा विशेष गरी पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन र तराई क्षेत्रमा भोलिपल्ट धुमधामका साथ होली खेल्ने परम्परा छ।
होली पर्वको धार्मिक र ऐतिहासिक पृष्ठभूमि छ। होली पर्वसँग जोडिएको प्रमुख कथा हिरण्यकश्यप, प्रह्लाद र होलिकासँग सम्बन्धित छ। दुष्ट राजा हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लादलाई भगवान विष्णुको भक्ति गरेको कारण विभिन्न यातना दिए।
अन्ततः होलिकाले प्रह्लादलाई आगोमा लिएर बस्दा आफैँ दग्ध भइन् भने प्रह्लाद सकुशल रहे। यही घटनाको सम्झनामा होलिका दहन गरिन्छ, जसले असत्य माथि सत्यको विजयको सन्देश दिन्छ।
त्यस्तै, भगवान श्रीकृष्णले राधासँग रङ खेल्ने परम्परासँग पनि होली जोडिएको पाइन्छ। यसले प्रेम र हर्षोल्लासको प्रतीक झल्काउँछ।
नेपालमा होलीलाई निकै हर्सोउल्लासको उत्सवको रुपमा मनाउने गरिन्छ। नेपालमा विशेष गरी धरान सहित ईटहरी, बिराटनगर, काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, बीरगंजलगायत विभिन्न शहरमा बालबालिका, युवायुवती तथा सबै उमेरसमुहकाले रङ, अबिर र पानी छ्याप्दै रमाइलो गर्ने चलन छ।
घर–घरमा मिठा परिकार पकाइन्छन् र आफन्त तथा साथीभाइबीच शुभकामना आदानप्रदान गरिन्छ।
होलीका अवसरमा बसन्तपुर दरबार क्षेत्रमा चीर गाड्ने र त्यसको अन्त्यमा दहन गर्ने चलनले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ।
होलि पर्व सामाजिक सन्देश बोकेको पर्व हो। होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई सामाजिक एकता, क्षमा र मेलमिलापको अवसर पनि हो। विगतका तिक्तता बिर्सेर एक–अर्कालाई रङ लगाउँदै नयाँ सुरुवात गर्ने परम्पराले समाजमा सकारात्मक ऊर्जा फैलाउँछ।
फागु पूर्णिमा नेपाली समाजमा खुसी, उत्साह र सद्भावको प्रतीकका रूपमा स्थापित छ। यस पर्वले असत्यमाथि सत्यको विजय र घृणामाथि प्रेमको जीत हुने सन्देश दिन्छ। त्यसैले होली मनाउँदा मर्यादित र सुरक्षित तरिकाले रमाइलो गर्दै यसको वास्तविक मर्मलाई आत्मसात् गर्नु आवश्यक छ।



प्रतिक्रिया