धरान, सुनसरीका पत्रकारहरूलाई निर्वाचन, आचारसंहिता तथा सुरक्षित पत्रकारिता सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश र धरान उपमहानगरपालिकाको सहकार्यमा आज धरान-२ स्थीत नवयुग होटलमा तालिम प्रदान गरिएको  हो।

तालिम कार्यक्रममा निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याइएको थियो। साथै, निर्वाचन अवधिभर पालना गर्नुपर्ने आचारसंहिता र सुरक्षा सतर्कताबारे जानकारी गराइएको छ।

निर्वाचन अधिकृत कृष्ण पौडेलका अनुसार सुनसरीका क्षेत्र नम्बर १, २ र ३ अन्तर्गतका मतदान स्थलहरूमा नेपाली सेना र नेपाल प्रहरी को सुरक्षा निगरानी थप गरिएको छ।

जिल्लाभर रहेका १६८ मतदान स्थलमध्ये तीन स्थलमा विशेष सुरक्षा व्यवस्था कडा पारिएको छ भने झुम्का कारागार नजिक दुई नयाँ मतदान स्थल थप गरिएको जानकारी दिइएको छ।

निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्री सम्बन्धित मतदान स्थलमा पठाइसकिएको छ। मतदान केन्द्रमा १० फिट दूरीमा मतपेटिका राखिने र सम्पूर्ण प्रक्रिया सुरक्षा मापदण्डअनुसार सञ्चालन गरिने अधिकृत पौडेलले बताए।

उनले स्पष्ट पारे, “मतदाता नामावलीमा नाम भएका व्यक्तिले मात्र मतदान गर्न पाउनेछन्। फागुनदेखि १८ वर्ष पूरा गरेका तर मतदाता सूचीमा नाम नभएका व्यक्तिहरूले मतदान गर्न पाउने छैनन्।”

फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने र फागुन २० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिने जनाइएको छ। 

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुनेछ। मतपेटिका संकलनमा समय लाग्न सक्ने भएकाले बेलुका ५ बजेसम्म सुरक्षित रूपमा मतदान गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

निर्वाचन अधिकृतले मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्न र कुनै पनि उम्मेदवारको प्रलोभनमा नपर्न अनुरोध गरेका छन्। पत्रकारहरूलाई भने मतदान स्थलमा मोबाइल फोन नल्याउन र तोकिएको क्षेत्रभित्र रहेर मात्र समाचार संकलन गर्न निर्देशन दिइएको छ।

यसैगरी कार्यक्रमको प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्रविक्रम वेघाले पत्रकारहरुलाई पत्रकारिताको आचारसंहितामा रहेर सत्य, तथ्य समाचार निष्पक्ष र निडर भएर प्रशारण गर्न आग्रह गरेका छन्।

आयोजक नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा 

महासंघका निवर्तमान अध्यक्ष जनकऋषि राई, अतिथि हर्ष सुब्बाको आतिथ्य रहेको थियोे।