धरान, श्रम संस्कृति पार्टीले धरानको भानुचोकमा आज बृहत जनसभा आयोजना गर्दै देशको विकास, सुशासन र भूमिहीन, गरिव तथा पिछडिएका वर्गको अधिकार सुनिश्चित गर्न श्रम संस्कृति पार्टीको स्थापना भएको जानकारी गराएको छ।

धरानका निवर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको उक्त पार्टी वैकल्पिक राजनीतिक शक्तिको रुपमा श्रमिक तथा पछाडि पारिएका वर्गहरुको जीवनस्तर उकास्ने उदेश्यले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेदवारी रहेको बताए।

पुराना राजनीति दलहरुले जनताको जीवन स्तर उकास्न नसकेको भन्दै वैकल्पिक राजनीति शक्तिको रुपमा स्थापित आफ्नो पार्टीले मात्र जनताको जीवनस्तर उकास्ने बताए।

धरानको खानेपानी समस्या समाधान, पर्यटन प्रवर्द्धन, कृषि, उद्योगलगायतको क्षेत्रमा विगतमा निरन्तर काम गरेको स्मरण गर्दै धरानमा पुर्ण रुपले खानेपानी समस्याको अन्त्य गर्ने, रोजगारी सृजना, शिक्षाको सुधार, घोपा क्याम्पको सुधार, धरानसहित सुनसरीका धार्मिक, साँस्कृतिक पर्यटनको विकास, भ्रष्टाचारको अत्यन्त गर्ने आफ्नो पार्टीको एजेन्डा रहेको बताए।

विगतमा पुराना दलहरुलाई निर्वाचनमा जिताएर पठाए पनि जनताको जीवनस्तर उकास्ने कार्य नगरेको मा दुख व्यक्त गर्दै आफुहरुमा मात्र जनताको जीवनस्तर उकास्ने भावना र सामर्थ भएको भन्दै यसपालिको निर्वाचनमा आफ्नो पाटीको चुनाव चिन्ह अन्जुली भरिको माटोमा मतदान गरेर जिताउन आग्रह गरे।