धरान, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई टेम्पो चालकहरूले नि:शुल्क टेम्पो र्‍यालीमार्फत समर्थन जनाएका छन्।

प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिएका हर्कराज राई(हर्क साम्पाङ)लाई जिताउने अभियानलाई समर्थन गर्दै धरान परिक्रमा कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं.१ मा परिक्रमा गरी भानु चोकमा टेम्पो र्‍याली समापन गरिएको थियो।

र्‍यालीमा करिव एक हजार सहभागी टेम्पो चालकहरूले पार्टीप्रति आफ्नो ऐक्यबद्धता प्रकट गरेका थिए।

सुनसरी टेम्पो व्यवसायी संघको कार्यक्रमलाई सम्बोधन गर्दै हर्क साम्पाङले आफू सधैं जनताको हितका लागि काम गर्दै आएको बताएका छन्। 

नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा ठूला–बढाभन्दा सर्वसाधारण जनता र नागरिकसँग सहकार्य गरेर अघि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरे।

उनले फागुन २१ गते हुने मतदानमा सहभागी भई आफूलाई विजयी गराएर देश विकासको जिम्मेवारी सुम्पिन आग्रह गरे। साथै, समर्थन जनाउने सम्पूर्ण टेम्पु व्यवसायी संघप्रति धन्यवाद व्यक्त गर्दै अन्य एजेन्डाबारे भोलि (शुक्रबार) भानु चोकमा हुने सभामा विस्तृत रूपमा धारणा राख्ने जानकारी दिए।