धरान, उज्यालो नेपाल पार्टीका सुनसरी क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डमर लावती (जेन्टल )ले खानेपानी र सुकुम्बासी समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन्।
आज धरान–१५ स्थित सोरिया गेष्ट हाउसमा आयोजित पत्रकार सम्मेलन तथा आमसभा छलफल कार्यक्रममा उम्मेदवार लावतीले खानेपानी र सुकुम्बासी समस्या समाधान सहित सुनसरी–१ को समग्र विकासका लागि स्पष्ट र कार्यान्वयन योग्य योजना अघि सारेका हुन्।
दिगो खानेपानी योजना अन्तरगत धरान तथा आसपासका क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै लावतीले तमोर र लेउती जलस्रोतको वैज्ञानिक उपयोगमार्फत घर–घरमा शुद्ध पानी पुर्याउने योजना रहेको बताए। खानेपानीलाई नारामात्र नभई व्यवहारमा लागू गरिने उनको भनाइ थियो।
सुकुम्बासी व्यवस्थापन र लालपुर्जा वितरण अन्तरगत सुनसरी–१ भित्र रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि वास्तविक भूमिहीनको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै लालपुर्जा वितरण गरिने उनले बताए।
रोक्का भएका घरजग्गा फुकुवा गर्न सम्बन्धित निकायसँग पहल गरिने र सुरक्षित आवास सुनिश्चित गरिने प्रतिबद्धता उनले जनाए।
यसैगरी शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकता अन्तरगत उम्मेदवार लावतीले पाँच वर्षभित्र शिक्षा, स्वास्थ्य, पर्यटन र युवा रोजगारीका क्षेत्रमा सुधार ल्याउने लक्ष्य रहेको बताए।
सडक पूर्वाधारको अभावका कारण बढ्दो इन्धन खर्चलाई नियन्त्रण गर्न योजनाबद्ध सडक निर्माण तथा स्तरोन्नति गरिने उनले उल्लेख गरे। स्वास्थ्य चौकीहरूको सेवा विस्तार र स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिएको छ।
पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले निष्पक्ष र तथ्यपरक पत्रकारिताको आवश्यकता औँल्याउँदै सबै उम्मेदवारका एजेन्डा जनतासम्म पुर्याउन आग्रह गरे।
यसैगरी फागुन ११ गते धरानमा पार्टीका अध्यक्ष कुलमान घिसिले विकास एजेन्डाबारे जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको जानकारी दिए।



प्रतिक्रिया