धरान, राजनीतिक दलहरूका लागि वास्तविक शक्ति परीक्षण आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले गर्ने नेकपा(एमाले)का उप-महासचिव योगेश भट्टराईले बताए।
गठबन्धन र सहकार्यका आधारमा बिगतमा चुनाव लड्ने दलहरुले यसपटक आ-आफ्नै बलबुतामा मैदानमा उत्रिएकाले कुन दलसँग कति जनलहर छ भन्ने कुरा यही निर्वाचनले छुट्याउने बताए।
उपमहासचिव भट्टराई ताप्लेजुङको चुनावी सभामा सहभागी हुन जादैं गर्दा विहीबार धरानमा सुनसरी क्षेत्र नं. १ का एमाले उम्मेदवार टिकाराम लिम्बूसहितको छलफलमा यस्तो धारणा राखेका हुन्।
‘विगतका चुनावमा केही दलले अर्को दलसँग टाँसिएर आफ्नो अस्तित्व जोगाउँदै आएका थिए, तर यसपटकको प्रतिस्पर्धा प्रत्यक्ष र स्पष्ट हुने छ।’-नेता भट्टराईले भन्नु भयो–‘दलहरु परीक्षणमा छन्। नेकपा एमाले पनि परीक्षणमा छ। यो हुनु पर्छ ।’
भट्टराईले एमाले फागुन २१ पछि पहिलो शक्ति बन्ने दाबी गर्दै ठूलो संगठन, स्पष्ट नीति, सक्षम नेतृत्व र व्यापक जनलहर नै जितको आधार भएको बताए। घरदैलो कार्यक्रमका क्रममा मतदाताले उठाएका स्थानीय विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका सवाललाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सुनसरी क्षेत्र नं. १ पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निर्वाचन क्षेत्र भएकाले नौ महिनाको शासनकालमा भएका लोकप्रिय कामको उदाहरण प्रस्तुत गर्दै भट्टराईले ती कार्यको निरन्तरता आवश्यक रहेको उल्लेख गरे। उनले यस क्षेत्रबाट उम्मेदवार बनेका लिम्बूले त्यही परम्परा पछ्याउँदै विकास र सुशासनमा ध्यान दिनुपर्ने बताए।
सुनसरी-१ मा एकाध निर्वाचनबाहेक एमालेले पराजय व्यहोर्नु नपरेको इतिहास स्मरण गराउँदै उनले यसपटक युवा उम्मेदवार लिम्बूले विजय हासिल गरी संसदमा प्रवेश गर्ने र युवाका मुद्दा सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरे।
क्षेत्रको समग्र विकास र जनताका न्यूनतम समस्या समाधानका लागि उम्मेदवार लिम्बूसँगै केन्द्रीय नेतृत्वले पनि पूर्ण साथ दिने प्रतिबद्धता भट्टराईले जनाए। छलफलमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी-१ निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य सूर्य पन्ध्याक, निर्वाचन प्रचार प्रसार संयोजक भीमज्वाला राईलगायतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया