धरान,  धरान फुटबल क्लबद्वारा आयोजित २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलबाट लालिगुराँस फुटबल क्लब पोखरा सेमिफाइनल प्रवेश गरेको छ।

धरान-१६ स्थीत रंगशालामा भएको आजको क्वाटरफाइनल खेलमा लालिगुराँस फुटबल क्लब पोखराले आयोजक धरान फुटबल क्लबमाथि टाइब्रेकरमा ५–४ गोलले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेग गर्न सफल बनेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त १५–१५ मिनेटको एक्स्ट्रा टाइममा प्रवेश गरेको थियो। 

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो।

टाइब्रेकरमा लालिगुराँस पोखराका राम थापा, टिकाराज गुरुङ, सुदिप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले सफल प्रहार गर्दै टोलीलाई अन्तिम चारमा पुर्‍याए।

धरान फुटबल क्लबका तर्फबाट विवेक राई, सविन राई, प्रज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार विफल भयो।

खेलको ‘म्यान अफ द म्याच’ लालिगुराँस फुटबल क्लबका गोलकिपर कुम्बा देउवा घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

आयोजकका अनुरसार भोलि (माघ २७ गते) झापा–११ झापा र सातदोबाटो युथ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ।

FB_IMG_1770302853373 4