धरान, २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा-११ ले उत्कृष्ट प्रदर्शन गर्दै भुटानको रोयल थिम्पु फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ।

धरान फुटबल क्लबद्वारा धरान-१६ स्थित रंगशालामा आयोजित गोल्डकपको आज सम्पन्न दोस्रो दिनको  खेलमा झापा-११ ले जितसँगै क्वार्टरफाइनल चरणमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा झापा–११ का जर्सी नम्बर २० का सुनिल खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १८ औं मिनेटमा जर्सी नम्बर १३ का राजेश दाहालले थप गोल गर्दै जित सुनिश्चित गरे।

उत्कृष्ट प्रदर्शन गरेका राजेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे। पुरस्कार प्रदेश प्रहरी कार्यालय धरान कार्यालयका प्रमुख एसएसपी ज्ञानेन्द्र फुँयाल र दाता कुमार तामाङले प्रदान गरेका थिए।

खेल अवधिभर झापा-११ का पेपे (१५), योगेश गुरुङ (२४) तथा रोयल थिम्पुका ङ्यवाङ युङ्तेण (५) ले पहेँलो कार्ड प्राप्त गरे।

अब झापा-११ ले माघ २७ गते सातदोबाटो युथ क्लब, ललितपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

यसैबीच प्रतियोगिताअन्तर्गत भोलि (शनिबार) माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड क्लब र एनआरटी क्लब, काठमाडौंबीच खेल हुनेछ। खेलको टिकट दर १०० रुपैयाँ तोकिएको छ। 

खेल धरान-१६ स्थित रंगशालामा दिउँसो ठीक २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

FB_IMG_1770302853373 1