धरान, शैक्षिक भ्रमणका लागि जनकपुरबाट धरान आएको बस दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

जनकपुरबाट शैक्षिक भ्रमणमा आएको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस भेडेटारबाट धरानतर्फ आउँदै गर्दा अनियन्त्रित भई धरान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

उक्त दुर्घटनामा चालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक तथा घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटनास्थलमा किचिएका व्यक्ति हुन् भन्ने विषयमा यकिन हुन बाँकी रहेको छ। मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।