धरान, किरात समुदायको मौलिक सांस्कृतिक चाड उधौली आज देश–विदेशमा बसेका राई, लिम्बु, सुनुवार र याक्खा समुदायले परम्परागत विधि, पूजा र साँस्कृतिक कार्यक्रमसहित धुमधामका साथ मनाइरहेका छन्। 

प्रकृतिप्रतिको श्रद्धा, कृषिप्रधान जीवनशैली, पुर्खा तथा सांस्कृतिक पहिचानसँग जोडिएको यो पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाउने परम्परा छ।

उधौलीलाई किराती समुदायले वर्षभरि मेहनत गरी प्राप्त गरेको अन्न, उत्पादन तथा जीवनका उपलब्धिको सम्मानस्वरूप मनाउने गर्छन्। कृषिमा आधारित जीवनशैली भएको किराती समाजमा यो पर्व उत्पादन, प्रकृति, पूर्वज र जीवनचक्रप्रतिको आस्था प्रतिविम्बित गर्ने महत्वपूर्ण अवसर मानिन्छ।

उधौली पर्व आज किरात समुदायभित्रका विभिन्न समूहले आफ्नो परम्परा, भाषा र धार्मिक मान्यताअनुसार मनाएका छन्।

राई (खम्बु) समुदायमा यो चाडलाई साकेला उधौली भनिन्छ। सामूहिक रूपमा खुला चौर तथा साकेला थानमा पूजा–पाठ गरिएपछि चण्डी नृत्य गरी प्रकृति, भूमी, वातावरण तथा देवताबाट आशीर्वाद मागिन्छ।

लिम्बु (याक्थुङ) समुदायले उधौलीलाई चासोक थिसोक तङ्नामका रूपमा मनाउँछन्। अन्न उत्पादन सम्पन्न भएको अवसरमा मनाइने यो पर्वमा घर–घरमा विशेष परिकार, इलाङ–खाम (थुञ्चा), तेन्दुङ  च्याब्रुङको धुनसँगै सामूहिक नाच–गान गरिन्छ।

सुनुवार (कोइञ्च) समुदायमा आजको दिन फोल्स्श्यादर मनाइन्छ। परम्परागत धार्मिक विधि, पितृपूजा, सांस्कृतिक नृत्य तथा भेषभूषासहित चाडको उल्लास साझा रूपमा व्यक्त गरिन्छ।

याक्खा समुदायले यस दिनलाई चासुवा नामक चाडका रूपमा मनाउँछन्। खेतीपाती, प्रकृति र पुर्खाको सम्मानस्वरूप पूजा, भोज तथा परम्परागत संस्कार प्रदर्शन गरिन्छ।

यसैगरी, यस दिन थामी समुदायले भूमे पूजा र नेवार समुदायले योमरी पुन्ही मनाइरहेको हुँदा किराती क्षेत्र र आसपासका बसोबास क्षेत्रमा सांस्कृतिक विविधता र सौहार्दको प्रतीक देखिएको छ।

देशसँगै विदेशमा पनि पनि किराँतीहरुले उधौली पर्वको उत्सव मनाईरहेका छन्।

धरान, भोजपुर, ताप्लेजुङ, धनकुटा, इलाम, उदयपुर, काठमाडौंसहित किरात बहुल क्षेत्रमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ। 

विदेशमा रहेका किराती समुदाय—भारत, हङकङ, अस्ट्रेलिया, बेलायत, जापान, कोरिया तथा गल्फ मुलुकमा पनि किराती संघ–संस्थाको पहलमा सांस्कृतिक कार्यक्रम, पूजाघर स्थापना र सामूहिक नृत्य गर्दछन्।

उधौली पुर्खा, पहिचान र संस्कृतिको संरक्षणको प्रतीक पनि हो। उधौली केवल चाड मात्र नभई किरात समुदायको इतिहास, पहिचान, परम्परा, भाषा र अस्तित्व जोगाउने माध्यम मानिन्छ। नवपीढीलाई परम्परा, रीति–रिवाज र संस्कृतिसँग जोड्ने अवसरका रूपमा पनि यसको महत्व बढ्दै गएको छ।

उधौलीको उल्लाससँगै किराती समुदायभित्र एकता, संस्कृति संरक्षण र पहिचान अभिवृद्धिको सन्देश फैलिएको छ। आजको दिन केवल पर्व होइन, इतिहास र संस्कृतिलाई निरन्तरता दिने गर्विलो क्षणको रूपमा मनाइँदै छ।