धरान, धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएका छन्।

आज नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए।

IMG-20251130-WA0002धरानको १० वटा वडाहरुको शान्ति सुरक्षा वडा प्रहरीको दायित्व भएपनि प्रहरी कार्यालय रहेको भानुचोकलाई व्यवस्थित गर्न सबैको साथ र सहयोगमा काम गर्ने बताए। 

बुधबार मात्रै धरान वडा प्रहरी कार्यालय सम्हाल्न आइपुगेका दाहाललाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले स्वागत गरेको हो। 

दाहाललाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार भीमज्वाला राईले धरानको बसपार्कमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सडक बालबालिकाहरुको व्यवस्थापन, लागु औषध सेवन, ओसारपसार र बेचबिखन नियन्त्रण र झैझगडा, तथा गुण्डागर्दी नियन्त्रण वडा प्रहरी कार्यालयको चुनौति रहेको बताए। राईले भने यति काम व्यवस्थित गर्न सकेमा धराने जनताले राहत महसुस गर्ने सुझाए। 

राईले बसपार्कमा काम गर्ने श्रमिकहरुलाई यात्रुमैत्री बनाउँदै यात्रु तानातान अन्त्य गर्न, सडक सुरक्षा बारे सचेतना अभियान सञ्चालनमा प्रहरीसंग सहकार्य गरिने बताए। 

यात्रुहरुको सुरक्षित यात्राको वातावरण बनाउन वडा प्रहरी कार्यालयलाई संगठन र यातायात मजदुरहरुको तर्फबाट साथ रहने राईले प्रतिवद्धता जनाएका थिए। 

यस अघि झापा जिल्ला स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाको कमाण्ड सम्हालीसकेका दहालले ठुलो परिमाणमा लागु औषध नियन्त्रणमा सफलता प्राप्त गरेका थिए । 

दाहाललाई स्वागत गर्न विभिन्न क्षेत्रका श्रमिकहरु सहित मजदुर राजनीतिबाट उदाएर हाल धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राई, मजदुर पृष्ठभूमिकै नेता धरान १५ नम्बर वडा सदस्य रंगलाल गिरी, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी लगायतकाहरु सहभागी थिए। 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संगठन धरान अध्यक्ष किरण थापाले गरेका थिए।

IMG-20251130-WA0003