धरान, सत्य साई केन्द्र धरानले सत्य साई बाबाको शताब्दीऔं जन्मोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ।

धरान-१ स्थीत सत्य साई केन्द्रमा भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन भएको छ।

नोभेम्बर २३ तारिख साई बाबाको जन्म दिनलाई जन्मोत्सवको रुपमा मनाउँदै प्रत्येक वर्ष केन्द्रले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको केन्द्रकी युवा संयोजक रीमा थापाले जानकारी गराईन्।

संयोजक थापाको अनुसार साई बाबाको जन्म उत्सव पाँच दिवसीय कार्यक्रम गर्दै मनाउने गरेको छ। यसै क्रममा यस पाली पनि मनाएको छ।

जस अन्तरगत पहिलो दिन नोभेम्बर १९ तारिखमा नारी दिवस, दोस्रो दिन २० तारिखमा युवा दिवस, तेस्रो दिन २१ तारिखमा शिक्षा दिवस, चौथो दिन २२ तारिखमा सेवा दिवस र पाँचौ दिन २३ तारिखमा आध्यात्मिक दिवसको रुपमा विभिन्न कार्यक्रम गरि मनाईएको हो। 

उक्त पाँच दिनका विभिन्न कार्यक्रमको माध्यमबाट केन्द्रमा आवद्ध साई बाबाको भक्तजनले सामुहिक रुपमा सामाजिक सेवाहरु गरेको छ।

मानवको सेवा नै ईश्वरको सेवा हो। भन्ने साई बाबाको उपदेश अनुरुप अन्य समयमा पनि भक्तजनले विभिन्न मानव सेवाका कार्य गर्दै आएका छन्।

मानवलाई मानवता, सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाको मार्गमा चल्न प्रेरित गर्दै विश्वमा शान्ति र सद्भाव फैलाउन मार्ग दर्शन दिने सत्य साई बाबाको जन्म सन् १९२६ को २३ नोभेम्बरमा भारतको आन्ध्र प्रदेशको अन्नन्तपुर जिल्ला स्थीत पुट्टपर्थीमा भएको थियो।