धरान, धरान-१२ स्थीत सुनाखरी एकेडेमीद्वारा आयोजित सुनसरी जिल्ला ब्यापी अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आज देखि सुरु भएको छ।

उक्त प्रतियोगिताको उद्घाटन धरान उप-महानगर पालिकाका उप-मेयर अइन्द्र बिक्रम वेघाले गरेका छन्।

एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको औपचारिक उद्घाटन प्रमुख अतिथी रहेका उप-मेयर बेघाले रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको  गरेका छन्।

Polish_20251123_195816535उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उप-मेयर बेघाले उप-महानगरपालिकाले खेलकुदका लागि छुट्टै बजेट व्यवस्था गरेको जानकारी दिँदै सुनाखरी एकेडेमीले गरेको फुटबल प्रतियोगिताको पहलको खुलेर प्रशंसा गरे।       

एन्फाका केन्द्रिय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईले धरानमा टोल कपदेखि गोल्ड कपसम्मका प्रतियोगिता भए पनि तयारी गोल्ड कपको स्तरमा नभई टोल कप जस्तो हुने गरेको उल्लेख गर्दै आयोजनामा अझ सुधार आवश्यक रहेको बताए।

आयोजक सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गर्दै स्कुले तहबाटै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

कार्यक्रममा जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राई, स्कुलका संस्थापक किशोर सुब्बा, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र गुरुङ, सुनसरी अध्यक्ष योवा राई, धरान अध्यक्ष भगत लिम्बू, प्याब्सन धरान अध्यक्ष दिपक घिमिरेलगायतको उपस्थिति थियो।

उद्घाटन खेलमा आयोजक सुनाखरी रेडले लिबर्टी रेसिडेन्सियल स्कुललाई एकतर्फी अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो। 

सुनाखरीले पहिलो हाफमा १० तथा दोस्रो हाफमा ८ गोल गर्दै जम्मा १८ गोल गर्न सफल भयो भने लिबर्टीले कुनै गोल गर्न सकेन।

आजको ‘म्यान अफ द म्याच’ सुनाखरीका जर्सी नम्बर १० का खेलाडी  श्रीहाङ लिम्बु घोषित भए।

आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत सोमबारको खेल एन्फा एकेडेमीको खेल मैदानमा  दिउँसो १ बजे माउन्ट हर्मन एकेडेमी र बिजयपुर मावि तथा दोस्रो खेल बुद्ध आदर्श बोर्डिङ  र नेपाल पुलिस स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ।