धरान, विश्व मधुमेह दिवसको अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निशुल्क मधुमेह स्क्रिनिङ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
प्रतिष्ठानको मेडिसिन विभागले ‘स्वस्थ जीवन जिउँ, मधुमेह नियन्त्रण गरौँ’ नारासहित आज विहान ५ देखि ७ बजेसम्म वाक क्याप र्याली आयोजना गरेको छ।
र्याली धरानका प्रमुख चोकहरू हुँदै प्रतिष्ठानमा सम्पन्न भयो। कार्यक्रममा मधुमेहका कारण, रोगको जोखिम, नियन्त्रणका उपाय, तथा टाइप–१ र टाइप–२ डायबिटिज अन्तर्गत कसले औषधि र कस्ले इन्सुलिन प्रयोग गर्ने भन्नेबारे जानकारी दिइयो।
यसैगरी बराहक्षेत्र नगरपालिका–३ को स्वास्थ्य चौकीमा समेत निशुल्क मधुमेह स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ। वरिष्ठ डायबिटिज विशेषज्ञ डा. रबिन मास्के सहित २७ जनाको स्वास्थ्य टोली खटिएको थियो। शिविरमा लियो क्लब अफ धरान ग्लोरी ले सहकार्य गरेको थियो।
स्थानीय बासिन्दाले घर नजिकै स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरे। शिविरमा २०७ जनाले मधुमेह परीक्षण गराएका छन्। साथै बिरामीलाई सुगर र प्रेसरका औषधि निशुल्क वितरण गर्नुका साथै गरेको डा. प्रदीप बास्तोला ले बताए।
मेडिसिन विभागका प्रमुख डा. मास्के का अनुसार शिविरमार्फत ३–४ सय जनासम्म सेवा दिने लक्ष्य राखिएको छ। सोहीअनुसार शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म पुनः निशुल्क परामर्श सेवा प्रदान गरिनेछ।



प्रतिक्रिया