विराटनगर, लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताएका छन्।
जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्दै उक्त कुरा बताएको हो।
जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ आज (मंगलबार) विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गरेेका हुन्
अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक संकट ल्याएको बताए। उनले अहिलेको सरकार असंवैधानिक रहेको बताउँदै विघटित संसदको पुनस्र्थापना गरेर लोकतान्त्रिक व्यवस्थाको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्नु पर्ने जिफन्टको धारणा रहेको स्पष्ट पारे।
जेनजी आन्दोलपछि बनेको असंवैधानिक सरकारले गरेका एकपछि अर्को निर्णयहरुले श्रमिकहरुलाई क्रमशः विस्थापित गर्दै गइरहेको बताए। श्रेष्ठका अनुसार श्रम बजारमा पुगेको क्षति र श्रमिकहरुको जीवन र रोजगारीमा पारेको असर बारे अभियानमा छलफल गरिने बताए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले श्रमिकहरुलाई समस्याबाट उन्मिुक्ति र डरबाट मुक्तिका लागि जिफन्टका सम्पूर्ण नेतृत्व परिचालन हुनुपर्ने श्रेष्ठले बताए।
उनले जेनजी घटनामा देशका उद्योग, कलकारखाना, निजी संरचनाहरु होटल तथा रेष्टुरेन्टहरु ध्वस्त हुँदा ठुलो संख्यामा श्रमिकहरुले रोजगारी गुमाउनु परेको र त्रासमा रहनु परेको बताउदै ती श्रमिकहरुको सुरक्षाका लागि जिफन्टले अभियान सञ्चालन गरेको बताए।
कोशी प्रदेशमा अभियान सञ्चालन गर्नका लागि जिफन्ट उपाध्यक्ष विदुर कार्कीको संयोजनमा जिफन्ट सचिव बेलीमाया घले, राष्ट्रिय कमिटीका सदस्यहरु भीमज्वाला राई, सन्तकुमार राई, किशोर धमला र माया भण्डारी टोलीमा रहनेछन् ।
टोलीमा जिफन्ट आवद्ध घटक युनियनका केन्द्रीय नेतृत्वलाई समेत समावेश गराउँदै अभियानलाई प्रभावकारी बनाइने अभियानका संयोजक विदुर कार्कीले जानकारी गराएका छन्।




प्रतिक्रिया