धरान, धरान–१२ स्थित  सुनाखरी एकेडेमीको आयोजनामा मंसिर ७ देखि १७ गतेसम्म सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप' अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ।

आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल मिलनकुमार राईले प्रतियोगितामा सुनसरीका १६ विद्यालयले सहभागिता जनाउने जानकारी दिए।

सुनसरीका १६ विद्यालय मात्र सहभागी हुनेछन्। दर्ता पहिले गर्ने १६ टिमलाई मात्र खेल्ने अवसर हुनेछ।

निजी, सरकारी, सामुदायिक तथा संस्थागत सबै प्रकारका विद्यालय सहभागी हुन पाउने व्यवस्था छ। इच्छुक विद्यालयले मंसिर ३ गतेभित्र दर्ता अनिवार्य रूपमा सम्पन्न गर्नु पर्नेछ।

Polish_20251108_143108557कक्षा १० सम्मका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने, प्रतिस्पर्धात्मक वातावरण तयार गर्ने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित धरान–१७ स्थित एन्फा एकेडेमी खेल मैदानमा सुनाखरी एकेडेमीले उक्त जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रिन्सिपलले जानकारी दिएका छन्।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार उपविजेताले २५ हजार र सेमिफाइनलमा पुगेका दुई टिमले ५ / ५, सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।

त्यसैगरी, उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरले  २ हजार ५ सय, उत्कृष्ट अनुशासित टिमले ५ हजार प्राप्त गर्नेछन्। 

प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राईले धरानलाई ‘मिनी ब्राजिल’ का रूपमा चिनिँदै आएको उल्लेख गर्दै विद्यालय तहबाटै फुटबल विकास गर्नु भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने महत्वपूर्ण पहल भएको बताए।

Polish_20251108_143121020उनका अनुसार, “स्कुल नै ग्राउन्ड लेभल हो, स्कुलबाटै उत्पादन भएका खेलाडीहरूले विश्व कीर्तिमान बनाएका छन्। नयाँ पुस्ताले तयारी गरे मात्र विश्वकपजस्तो ठूलो लक्ष्य हासिल गर्न सकिन्छ।”

प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरेले खेलकुदले युवाहरूलाई सही मार्गमा उन्मुख गराइरहेको उल्लेख गर्दै अभिभावकहरू अब प्रतिभा उजिल्याउने अवसर देखेर उत्साहित भएको बताए।

प्रतियोगिता एन्फा एकेडेमी धरान र जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोगमा तथा प्याब्सन र एनब्याब्सन धरानको संयोजनमा सञ्चालन हुनेछ।

कार्यक्रममा एन्फा सुनसरी अध्यक्ष नवीन राई, सुनाखरी एकेडेमीका निर्देशक प्रदीप राईलगायतको उपस्थिति थियो।