धरान, धरान-१४ स्थित पिण्डेश्वर बाबाधाममा आज देखि बोलबम मेला सुरु भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेलाको उद्धघाटन गर्नु गरेका छन्।
उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्मन्त्री कार्कीले धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धनको माध्यमबाट प्रदेशको समृद्धि र रोजगारी सिर्जना गर्न सकिने बताए।
उनले पिण्डेश्वर क्षेत्रलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई आर्थिक समृद्धिको सम्भावनाको रुपमा पनि विकास गर्न सकिने बताउँदै भन्नुभयो,सनातन धर्म र संस्कृतिसँग मात्र होइन, पिण्डेश्वर हाम्रो समृद्धिको आधार पनि बन्न सक्छ। यस मार्फत रोजगारी सिर्जना हुँदै मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दिशामा योगदान पुग्ने उनले बताए।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा रहेको बराहक्षेत्र, प्राचीन हरिद्वार, पिण्डेश्वर, बुढासुब्बा, हलेसी महादेव, पाथीभरा मन्दिर, तथा किरात धर्म गुरु फाल्गुनन्दले स्थापना गरेको माङ्सेबुङ क्षेत्रलाई महत्वपूर्ण धार्मिक र सांस्कृतिक स्थलको रूपमा चिनाउँदै तिनीहरूको संरक्षण र समुचित विकासका लागि प्रदेश सरकारले बहुवर्षीय गुरु योजना सुरु गरिसकेको बताए।
उनले यस्ता स्थानहरूको पूर्वाधार निर्माण, प्रचारप्रसार, तथा धार्मिक–सांस्कृतिक पर्यटनको विकासलाई प्रदेश सरकारको पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारे।
उनका अनुसार ती स्थलहरूलाई केवल तीर्थस्थलको रूपमा होइन, पर्यटकीय गन्तव्यको रूपमा समेत स्थापित गर्दै देश–विदेशबाट श्रद्धालु तथा पर्यटक तान्ने योजना अघि सारिएको छ।
बृहत् कुम्भक्षेत्र विकासका लागि परियोजना तयार भइसकेको र त्यसको कार्यान्वयन प्रारम्भिक चरणमा रहेको बताउँदै उनले प्रदेशमा निर्माणाधीन सडक पूर्वाधारमा ढिलासुस्ती भइरहे पनि तीव्रता दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
मुख्यमन्त्री कार्कीले धरान नगरपालिका क्षेत्रको समग्र विकास र बिस्तारका लागि एकीकृत विकास अभियान सञ्चालन गर्नु आवश्यक भएको उल्लेख गर्दै प्रदेश सरकार त्यसप्रति प्रतिबद्ध रहेको बताए।
एक महिनासम्म सञ्चालन हुने मेलामा सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ।
साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र हजारौ भक्तजनलाई ओतको व्यवस्थापन गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए।
सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। मेलामा विशेषगरी पहेँलो लुगा लगाउने, खाली खुट्टा हिँडेर वराहक्षेत्रको चतरास्थित कोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरिन्छ।
मेलामा देशमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहट, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन्।