धरान, उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा प्रहरीले तरकारी बोकेको बलेरो गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

शनिबार अपराह्न कटारीबाट सिरहाको मिर्चैयातर्फ जाँदै गरेको को.१ज १२७५ नम्बरको बलेरो गाडीलाई संकास्पद देखिएपछि चेकजाँच गर्दा गाडीभित्र लुकाई छिपाई राखिएको १२ वटा बोरामा रहेका ४ सय ३६ किलो १४० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

गाँजा बरामदसँगै गाडी र चालक २९ वर्षिया धनकुटा, सहिदभूमि–२ स्थाई ठेगाना भएका तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीमार्फत थप अनुसन्धान तथा कानूनी कारबाही अघि बढाइएको छ।

प्रहरीका अनुसार गाँजालाई तरकारीका बोरामा राखी छिपाएर तस्करी गर्न खोजिएको आशंका गरिएको छ।

घटना सम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गएको छ।