धरान, सुनसरी उद्योग वाणिज्य संघ, धरान-सुनसरीको असार ३० मा हुने निर्वाचनलाई लक्षित गर्दै नेवार एकता समाज, धरानको आयोजनामा उम्मेदवार परिचय तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
धरानस्थित सिद्धि नेवा परिषद्को हलमा शनिबार आयोजित कार्यक्रममा वाणिज्य, उद्योग तथा एसोसिएट समूहबाट प्रतिस्पर्धामा रहेका ३४ जना उम्मेदवारहरू मध्ये ३२ जना उम्मेदवारको सहभागिता रहेको थियो। कार्यक्रममा उनीहरूलाई व्यक्तिगत रूपमा प्रस्तुत गर्दै शुभकामना व्यक्त गरिएको थियो।
उद्योगतर्फ महिला सदस्य पदमा मिना राई (मगर) र एसोसिएट समूहतर्फ सदस्य पदमा नवीन कुमार तामाङ तथा नारायण लिम्बु निर्विरोध निर्वाचित भएकाले उनीहरूलाई विशेष बधाई ज्ञापन गरिएको थियो।
कार्यक्रममा अध्यक्ष पदका प्रत्याशी गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आ–आफ्ना चुनावी एजेन्डाहरू प्रस्तुत गर्दै भावी योजनाबारे धारणा राखेका थिए।
नेवार एकता समाजकी उपाध्यक्ष मञ्जु श्रेष्ठले स्वागत मन्तव्य राख्दै आगामी नेतृत्वले व्यवसायीहरूको हकहितका लागि काम गर्नुपर्नेमा जोड दिइन्।
संस्थाका संस्थापक अध्यक्ष राजेसमान श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै, “नेवार समुदायको उल्लेखनीय संलग्नता व्यापार व्यवसायमा छ, त्यसैले समुदाय र उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक छ,” भन्ने धारणा राखे।
कार्यक्रममा संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठ, नेवार एकता समाजका पूर्व अध्यक्ष विशाल श्रेष्ठ लगायतले समेत उम्मेदवारहरूलाई शुभकामना व्यक्त गर्दै निर्वाचनमा सफलता प्राप्त गर्न शुभेच्छा प्रकट गरेका थिए।
कार्यक्रममा नेवाः देय् दबू धरानका अध्यक्ष मनोहर शाक्य, धरान उपमहानगरपालिका–३ का वडा अध्यक्ष विद्या शाक्यलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नेवार एकता समाजका महासचिव दिपेन्द्र श्रेष्ठ (कसजु)ले गरेका थिए भने समापन अध्यक्ष महेश श्रेष्ठले धन्यवाद ज्ञापनका साथ समापन मन्तव्य राखे।