धरान, धरानमा स्वास्थ्य बीमा सेवासम्बन्धी बिमा बोर्डको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै धरानका पाँच प्रमुख राजनीतिक दलहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) धरानका नेताहरूले शनिवार संयुक्त हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र मन्त्रीलाई पठाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै प्रथम सेवा विन्दु र रेफरल अस्पतालको रूपमा कायम राख्न माग गरेका हुन्।
नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका उद्धव लिम्बु, जसपाका ताजुब लिम्बु र एकीकृत समाजवादीका अध्यक्ष रेवती रमण राईको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, “धरान उपमहानगर भित्र कुनै सरकारी स्वास्थ्य संस्था नरहेको अवस्थालाई ध्यानमा राखी बिपी प्रतिष्ठानलाई नै स्वास्थ्य बीमाको सेवाका लागि पहिलो विन्दु कायम गरिनुपर्छ।”
पत्रमा हालको निर्णयले धरानका नागरिकलाई बीपीबाट सेवा लिनुअघि इटहरी, इनरुवा वा वराहक्षेत्रका अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको उल्लेख गर्दै यस्तो निर्णय संविधान प्रदत्त नागरिकको मौलिक हकविपरीत भएको दाबी गरिएको छ।
दलहरूले चेतावनी दिँदै भनेका छन्, “स्वास्थ्य बीमा बोर्डको निर्णय नसच्याएमा हामीहरू कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।
यस्तै बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा सेवाको प्रथम सेवा केन्द्रबाट हटाउने निर्णयको विरोधमा धरानमा संयुक्त विरोध र्याली समेत निकालिएको छ।
धरान–१ को पुरानो अस्पताल छाताचोकबाट सुरु भएको र्याली सिहदेवीचोक, माछाभौडी हुँदै वडा नं. २ को भानुचोकमा कोणसभामा परिणत भएको हो।